काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता गर्नुभएको छ । आज सम्झौता गर्नुहुँदै मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताउनुभएको हो । सम्झौतामा उहाँले अस्पतालको सरसफाइ, श्यया उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकता दिनुभएको छ ।
मन्त्री मेहताले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता गर्नुभएको हो ।
सम्झौताका क्रममा अस्पतालको सरसफाइ तथा स्वच्छता कायम गर्ने, बिरामीले आवश्यकताअनुसार समयमै श्यया पाउने व्यवस्था मिलाउने, उपचारका लागि लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्थाको न्यूनीकरण गर्ने तथा स्वास्थ्यकर्मीको सेवाग्राहीप्रतिको व्यवहारलाई थप सेवामैत्री र जिम्मेवार बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । त्यसैगरी, स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, प्रभावकारी सेवा प्रवाह, संस्थागत सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्दै बिरामीले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।
कार्यसम्पादन सम्झौतामार्फत प्रतिष्ठानहरूको जिम्मेवारी र लक्ष्यलाई थप स्पष्ट गर्दै स्वास्थ्य सेवामा सुधार ल्याउने तथा सेवाग्राहीले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । त्यस्तै मन्त्रालयका सचिव डा विकास देवकोटाले समेत १९ वटा सङ्घीय अस्पतालका प्रमुखसँग आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता गर्नुभएको छ।रासस
