वाशिङटन डीसी (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय फर्मा कम्पनी मोडेर्नाले घरेलु प्रतिस्पर्धी कम्पनी फाइजर र जर्मन बायो प्रविधि कम्पनी बायोएनटेक विरुद्ध मुद्दा दायर गरेको छ । कम्पनीले आफ्नो खोप प्रविधिको महत्वपूर्ण फिचर चोरेको भन्दै सो मुद्दा हालेको हो ।
मोडेर्ना र फाइजर–बायोएनटेक दुबै कोभिड विरुद्धको शीर्ष खोप निर्माता कम्पनी हुन् । आफ्नो खोप बनाउन फाइजरले मोडेर्नाको प्रविधि चोरेको आरोप लगाइएको छ । फाइजर र बायोएनटेकको कोमिर्नाटी खोपले मोडेर्नाले वर्षौ अघि प्रविधि सुरक्षणका लागि दर्ता गराएका कयौं प्याटेन्टको उल्लंघन गरेको मोडेर्नाले शुक्रवार बताएको थियो ।
कम्पनीले अमेरिकाको संघीय अदालत र जर्मन अदालतमा प्याटेन्ट उल्लंघनसम्बन्धी मुद्दा दायर गराएको छ । मोडेर्नाको मुद्दाको पूर्ण रुपमा समीक्षा नगरेको तर मुद्दा दायर भएको देखेर आफू अचम्भित बनेको फाइजरकी प्रवक्ता पाम इसेलले भनेकी छिन् । आफ्नो खोप फाइजर र बायोएनटेकले दुबैले विकास गरेको प्रोपराटरी प्रविधिमा आधारित भएको फाइजरको भनाइ छ । यो मामिलामा कम्पनीविरुद्ध लगाइने कुनै पनि आरोपको जोरदार खण्डन गर्ने उनले बताएकी छिन् ।
मोडेर्ना र फाइजर दुबैको कोरोना भाइरस विरुद्धको खोप दुई दुई मात्रा लगाउनु पर्छ । यी खोपमा दुबैले एमआरएनए प्रविधिको प्रयोग गरेका छन् । कोभिड शुरु हुँदा फाइजर र बायोएनटेक दुबैसँग कोभिड विरुद्धको एमआएनए खोप बनाउने अनुभव नभएको म्यासाचुसेट्सको जिल्ला अदालतमा दायर मुद्दामा मोडेर्नाले भनेको छ ।
यसमा भाइरसको आरएनए अर्थात् आनुवंशिक संरचनाको एउटा अंशलाई लिपिडको लेप लगाएर शरीरका कोषमा छिर्न सक्ने बनाइएको हुन्छ । परम्परागत खोप भन्दा एमआरएनए खोप नितान्त फरक छ । मोडेर्नाका अनुसार उसले सन् २०१० मै एमआरएनए प्रविधिमा अधारित भएर खोप बनाउन शुरु गरेको थियो ।
यसैका कारण सन् २०२० को शुरुमा कोभिडको महामारी शुरु हुने बित्तिकै कम्पनीले चाँडै नै कोरोना भाइरस विरुद्धको खोप बनाउन सकेको कम्पनीको भनाइ छ । तर, क्लिनिकल परीक्षणहरुले दुबैको खोप उच्च प्रभावकारी रहेको देखाएपछि सोही वर्षको अन्त्यमा अमेरिकी नियामकहरुले फाइजर र मोडेर्ना दुबैको खोपलाई प्रयोगको अनुमति दिएका थिए ।
आफूले एमआरएनए खोप बनाउन अर्बौै डलर खर्चेको मोडेर्नाको सीईओ इटेफन बान्सेलल एउटा पूर्वतयार विज्ञप्तिमा भनेका छन् । मोडेर्नाले नेशनल इन्ष्टिच्यूट अफ हेल्थमा वैज्ञानिकहरुसँगको सहकार्यमा खोपको परीक्षण र विकास गरेको थियो । मुद्दामा सो सहकार्यबाट उत्पन्न प्रविधिको प्याटेन्टबारे नभएको बताइएको छ ।
यसमा सन् २०१० देखि सन् २०१६ को बीचमा कम्पनीले दर्ता गराएको प्याटेन्ट उल्लंघनलाई समेटिएको बताइएको छ । मोडेर्नाले सन् २०२० मा महामारी चलिरहँदा कोभिडसम्बन्धी प्याटेन्टहरु लागू गर्ने भनेको थियो । पछिल्लो समय विश्वभर खोपको आपूर्तिमा सुधार आएको भन्दै कम्पनीले वाचा फेरेको छ ।
न्यून र मध्यम आय भएका देशमा प्रयोग गरिने खोपमा कम्पनीले प्याटेन्टको दाबी नगर्ने भएको छ । तर फाइजर र बायोएनटेक जस्ता कम्पनीहरुले भने आफ्नो बौद्धिक सम्पत्तिको सम्मान गर्छ भन्ने आशा गरेको मोर्डोले बताएको छ । अन्य बजारमा कम्पनीहरुले आग्रह गर्छन् भने व्यवासयिक रुपमै लाइसेन्स प्रयोग गर्न दिने समेत उसले बताएको छ ।
गएको वर्ष फाइजरले विश्वभर ३६ अर्ब डलर बराबरको खोप बेचेको थियोे । यो वर्ष पनि खोप विक्रीको आय ३३ अर्ब डलर रहने अपेक्षा गरिएको छ । गएको वर्ष मोडेर्नाले भने खोप बेचेर १७ अर्ब ६० करोड डलर मात्रै काएको थियो । यो वर्ष भने खोप विक्रीको आम्दानी २१ अर्ब डलर पुग्ने अपेक्षा गरिएको छ । स्पाइक म्याक्स अहिले बजारमा रहेको यसको एउटै मात्र खोप प्रडक्ट हो । यसले एमआरएन प्रविधिको प्रयोग गरे अन्य खोप पनि बनाइरहेको छ । एजेन्सी
