झापा । अर्जुनधारा–७ का ४१ वर्षीय भुपिन राईले आठ वर्षदेखि विर्तामोडको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालबाट मिर्गौलाको डायलासिस सेवा लिइरहनु भएको छ । सुरुका दिनमा पालो नपाउँदा पैसा तिरेर सेवा लिनुभएका उहाँले चार वर्षदेखि कुनै शुल्क तिर्नुपरेको छैन ।विर्तामोड–४ का ६९ वर्षीय अग्निप्रसाद अधिकारी दुई वर्षदेखि मिर्गौलाको डायलासिस गराउन भद्रपुरको ओमसाई पाथिभरा अस्पताल धाउनुहुन्छ । निजी अस्पताल भए पनि सरकारले मिर्गौलाको डायलासिस निःशुल्क गराएको हँुदा उहाँले शुल्क तिर्नुपरेको छैन ।
झापामा तीनवटा अस्पतालबाट मिर्गौलाको डायलासिस सेवा निःशुल्क उपलब्ध गराइएको छ । भद्रपुरको मेची प्रादेशिक अस्पताल, ओमसाई पाथिभरा अस्पताल र बिर्तामोडको पूर्णटङ्ग बिर्तासिटी अस्पतालले निःशुल्क सेवा उपलब्ध गराउँदै आइरहेको छ । सूचीकृत अस्पतालबाट नियमित निःशुल्क डायलासिस सेवा लिइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या दुई सय नाघेको छ भने त्यहाँ ३५ वटा डायलासिस उपकरण छन् ।
जिल्लामा मिर्गौलाका बिरामीको सङ्ख्या यसको दोब्बर रहेको अनुमान गरिए पनि अरुहरुले झापा बाहिर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको नोवेल मेडिकल कलेज र भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट डायलासिस सेवा लिइरहेको पाइएको छ । उपकरणको सङ्ख्या थोरै भएका बेला केहीवर्ष अघिसम्म निःशुल्क डायलासिसको पालो पाउन अर्को बिरामीको मृत्यु कुर्नुपर्ने दुःखदायी अवस्था थियो तर अहिले डायलासिस उपकरण पर्याप्त मात्रामा थपिएका कारण पालो कुर्नुपर्ने अवस्था अन्त्य भएको हो । यसबाहेक विर्तामोडको मनमोहन सामुदायिक अस्पतालले रोटरी क्लब अफ मिडटाउनको सहकार्यमा सात वटा डायलासिस उपकरण एक वर्षदेखि सञ्चालनमा ल्याइरहेको छ ।
निःशुल्क सेवा प्रदान गर्ने अस्पतालको सूचीमा दर्ताको प्रक्रिया चलिरहेका कारण हाल यहाँबाट सरकारले तोकिदिएकै रु दुई हजार पाँच सयमा डायलासिस सेवा दिइरहेको विर्तामोडस्थित रोटरी क्लबका संस्थापक अध्यक्ष सन्तोष अग्रवालले बताउनुहुन्छ । झापामा सबैभन्दा धेरै १६ वटा उपकरण राखेको ओमसाई पाथिभरा अस्पतालमा नियमित एक सय पाँच बिरामीले निःशुल्क डायलासिस सेवा प्राप्त गरिरहेका छन् । रासस