पोखरा । राष्ट्रिय मृगौला उपचार केन्द्र दमौली अस्पताल (युनिट) लाई राष्ट्रिय हेल्थ अवार्ड–२०७९(गण्डकी तथा लुम्बिनी प्रदेश बिशेष) बाट सम्मान गरिएको छ ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्कको सातौं वार्षिकोत्सवका अवसरमा मंगलबार पोखरामा भएको कार्यक्रममा केन्द्रलाई सो अवार्ड बाट सम्मानित गरिएको हो । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का , वरिष्ठ पत्रकार किशोर नेपाल सहितले उक्त केन्द्रलाई अवार्ड प्रदान गर्नुभएको थियो ।
विगत लामो समयदेखि मृगौला उपचारको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै अस्पताल लाई अवार्डबाट सम्मानित गरिएको नेटवर्कका अध्यक्ष सन्दीप श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा मृगौला उपचार केन्द्र सहित गण्डकी र लुम्बिनी प्रदेशका अस्पताल र स्वास्थ्यसँग सम्बन्धित चिकित्सक,स्वास्थ्यकर्मी लगायत १९ जना व्यक्तित्व सम्मानित हुनु भएको थियो ।
कार्यक्रममा एनआरएनए निवर्तमान उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, पत्रकार किशोर नेपाल, दीपेन्द्र श्रेष्ठ, विमला भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
