चितवन । चितवन मेडिकल कलेज(सिएमसी) मा आज प्रदर्शन र तोडफोड भएको छ । पेट दुखेपछि घरबाट आफै मोेटरसाइकलमा चढेर अस्पताल आएका भरतपुर महानगरपालिका वडा नम्बर १३ उजेली नगरका ३६ बर्षीय रमेश कुंवरको मृत्यु भएको हो । उपचारको क्रममा चरम लापरवाही भएको भन्दै आफन्तले अस्पताल तोडफोड गरेका हुन् । अस्पताल तोडफोड भएपछि अस्पताल परिषर तनाबग्रस्त बनेको छ ।
मृतकका ज्वाई सागर कुंवरले चिकित्सकको चरम लापरवाहीले आफ्नो जेठानको अनाहकमै ज्यान गुमाउनु परेको बताए ।’हिजो बिहानै आफै मोटरसाइकल चलाएरघरबाट आउनु भएको थियो , लापरवाहीले उहांँको ज्यान गयो ।’ उनले भने । आफूले अस्पतालबाट सफल उपचार हुने आशा भएपनि चिकित्सकको लापरवाहीले ज्यान गएको उनको भनाई छ ।
उनको मृत्यु भएपछि अस्पतालले सहजीकरण नगर्दा आक्रोशित आफन्तले तोडफोड र प्रर्दशन गरेका थिए । मृतकलाई न्याय दिनुपर्ने, सत्यतथ्य छानविन गर्नुपर्ने , दोषीलाई कारवाहीको माग गर्दै प्रर्दशन गरिएको कुंँवरले बताए ।
बिरामीको उपचारमा संलग्न पेट तथा कलेजो रोग बिशेषज्ञ डा सागर पौडेलले लापरवाहीका कारण नभई अक्युट प्यांँक्रिटाईटिस्को समस्या भएका कुंँवरको सघन कक्षमा उपचारको क्रममा मृत्यु भएको बताए । ‘उहांँ एक्युट प्यांक्रिटाइटिसको समस्या थियो सघन कक्ष उपचारको क्रममा अन्य अंगमा समेत संक्रमण फैलिएको देखियो, डा पौडेलले भने, हाम्रो टीमले सक्दो प्रयास गर्दा पनि बचाउन सकेनौं ।’
अस्पतालका सिइयो प्रताप देवकोटाले विरामीको उपचारको क्रममा मृत्यु भएको बताए । ‘उपचारको क्रममा कहिले कांँही बिरामीको मृत्यु पनि हुनसक्छ देवकोटाले भने, अस्पतालबाट कुनै लापरवाही भएको छैन ।’
स्थिती तनावग्रस्त भएपछि सयौंको संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी तैनाथ गरिएको छ । अस्पताल प्रशासन र पीडित पक्षबीच वार्ता भएपनि पीडितको पक्षमा वार्ता नटुंगिएपछि आफन्तहरु थप आक्रोशित बनेका हुन्। सुरक्षाकर्मी तैनाथ भएपछि स्थिति सामान्य बन्दै गईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी विजयराज पण्डितले जानकारी दिए । प्रर्दशनकारी ८ जनालाई प्रहरीले नियन्त्रण लिएको उनले बताए । पण्डितका अनुसार तोडफोडबाट आइसियु कक्षका सिसाहरु फुटेका छन ।
