मनाङ ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाअन्तर्गत हिम्लुङ हिमाल आधार शिविरमा बिरामी परेका हिमाल आरोहीको उद्धारमा सहयोग गर्नुभएको छ ।
नेता पौडेलको पहलमा बिरामी पर्नुभएका कृष्ण थापामगर, हरि बुढामगर र नन्द बुढामगरको उद्धार गर्नुभएको हिमालय फिटनेस एण्ड वेलननेस सेन्टर काठमाडौँका निर्देशक सूर्य गेलाङ मगरले जानकारी दिनुभयो । आरोही बिरामी परेपछि वरिष्ठ नेतालाई खबर गरेको उहाँले प्रधानमन्त्री, गृह र रक्षामन्त्रीलाई समन्वय गरी तत्काल बिरामी पर्यटकको उद्धार गरिएको मगरले बताउनुभयो ।
नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीसमेत तत्काल उद्धार कार्यका लागि मद्दत गरेको उहाँले जानकारी दिनुभयो । हिम्लुङ हिमाल आधार शिविर समुन्द्री सतहदेखि चार हजार ६०० मिटर उचाइमा अवस्था छ । हिम्लुङ हिमाल आधार शिविरलाई ‘करी कप्लर बेस क्याम’ वा ‘नयाँ आधार शिविर’ समेत भनिन्छ ।
केही साता अगाडि हिमाल आरोहरण गर्न पुगेको ३० जनामध्ये तीन जना गम्भीर बिरामी भएकाले नेपाली सेनाको हेलिकप्टरमार्फत आज काठमाडौँ पु¥याइएको मगरले बताउनुभयो । बिरामी अलपत्र परेको खबर प्राप्त हुनासाथ उद्धारका लागि सम्बन्धित निकायमा टेलिफोन गरेको वरिष्ठ नेता पौडेलले बताउनुभयो । रासस