चितवन ।नेपाल अप्थाल्मिक सोसाइटीको २४औँ राष्ट्रिय सम्मेलन आजदेखि यहाँ सुरु भएको छ । सम्मेलनमा नेपालसहित पाँच देशका झण्डै दुई सय आँखा रोग विशेषज्ञको सहभागिता छ ।
नयाँ नेतृत्व चयन गर्ने यस सम्मेलनमा १० विभिन्न प्राविधिक पक्षको प्रस्तुती र छलफल हुनेछ । सम्मेलनको उद्घाटन सत्रमा रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा, प्रा डा शशाङ्क कोइराला, प्रा डा चेतनाराज पन्त, नेपाल नेत्रज्योति सङ्घका संस्थापक अध्यक्ष प्रा डा रामप्रसाद पोखरेल, सङ्घका अध्यक्ष प्रा डा रोहित सैँजु, नेपाल नेत्रज्योति सङ्घ चितवनका अध्यक्ष कृष्णराज धरोल, कार्यक्रम संयोजक डा सङ्गीता शर्मा भण्डारीलगायतले बोल्नुभएको थियो ।
सो अवसरमा प्रा डा कोइराला र पन्तलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो । आँखा स्वास्थ्यमा उहाँहरूले पु¥याउनुभएको योगदान गर्दै सम्मान गरिएको हो । शनिबारसम्म चल्ने सम्मेलनमा मोतियाविन्दु, जलविन्दु, आँखाको पर्दा, आँखाको नानी, आँखाको प्लास्टिक सर्जरी, बच्चाको आँखाको रोगलगायतका विषयमा अनुभव आदानप्रदान र प्रस्तुतीकरण हुनेछ ।
सम्मेलनमा शैक्षिक ज्ञान आदानप्रदानका साथै आँखा उपचारको क्षेत्रमा विकास भएका नयाँ प्रविधि, संस्थागत विकास, नयाँ चिकित्सक आकर्षण गराउने उद्देश्य राखिएको छ । सम्मेलनमा अमेरिका, भारत, बङ्गलादेश र पाकिस्तानका २४ जना विशेषज्ञ चिकित्सकको सहभागिता रहेको छ ।
सङ्घले शनिबार नयाँ नेतृत्व चयन गर्दैछ । सङ्घमा हाल चार सय २५ चिकित्सक आबद्ध छन् । नेपालमा सन् १९८७ देखि आँखा उपचार थालिएको हो । आँखाको पहिलो चिकित्सकका रूपमा डा हिमाल बज्राचार्य र डा वाइडी जोशीलाई लिने गरिन्छ । रासस