झापा । मेचीनगर नगरपालिका–१० मा रहेको प्राथमिक धुलाबारी स्वास्थ्य केन्द्रमा मतदान केन्द्र तोकिएपछि स्थानीयवासीले विरोध जनाएका छन् ।
स्वास्थ्यचौकीजस्तो अति संवेदनशील स्थानमा मतदान केन्द्र तोकिँदा बिरामीलाई असर पर्ने भन्दै स्थानीयवासीले सामाजिक सञ्जालमार्फत विरोध जनाएका हुन् ।
मेचीनगर¬–१० खयरडाँगीका महेश खड्काले विगतमा स्वास्थ्य केन्द्रमा मतदान हुँदै गर्दा एम्बुलेन्समा आएकी एक गर्भवती महिलाले उपचार नपाएको भन्दै आगामी निर्वाचनमा मतदान केन्द्र नबनाइ आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘आँखै अगाडि देखेको यो घटनाले जीवनभर घोचिरहनेछ । अब आउने दिनमा हेल्थ पोस्टलाई निर्वाचन केन्द्र बनाउँदै गर्दा स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् ।’ झापा क्षेत्र नं १ मा रहेको यस केन्द्रमा मतदान केन्द्र तोकिएकामा स्थानीय समाजसेवी देवीमाया गौतमले पनि विरोध गरेकी छन् ।
उनले निर्वाचन कार्यालयले विगतमा पटकपटक गरेको गल्ती यसपालि पनि दोहोर्याएको भन्दै आपत्ति जनाएकी छन् । हरेक नागरिकको २४ घण्टै पाउनुपर्ने स्वास्थ्योपचारको अधिकार पनि निर्वाचन कार्यालयले हनन गरेको आरोप लगाइन् ।
क्षेत्र नं १ का निर्वाचन अधिकृत टङ्कबहादुर महतले स्वास्थ्य केन्द्रलाई मतदान केन्द्र बनाउनु उचित नभए पनि तत्काल विकल्प नभएको बताए । उनले भने, ‘पहिलादेखि नै कसरी रह्यो, पहिल्यै सुधार गर्नुपथ्र्यो । अब ठाउँ तोकिएको स्थानबाट ठाउँ सार्न पाइँदैन, अर्को उपाय छैन ।’
उनले स्वास्थ्य केन्द्रमा मतदान केन्द्र बनाउँदा बिरामीलाई असर पर्नेमा आफू चिन्तित भए पनि तत्काल केही गर्न नसकिने बताए । झापामा २ सय ८५ मतदानस्थल र ७ सय ५५ मतदान केन्द्र रहेका छन् । रासस
