लुम्बिनी प्रदेश आफैमा महत्व बोकेको ठाउँ हो । गौतम बुद्धको जन्मस्थान लुम्बिनी र यसको नाम प्रख्यात रहेकोले पनि यो संसारमा नै महत्वपूर्ण ठाउँ हो । महत्वपूर्ण ठाउँ भईकन पनि स्वास्थ्य क्षेत्रमा यहाँको विकास भर्खर मात्र हुँदै गरेको देखिन्छ । यस क्षेत्रमा मुटुरोग उपचारको लागि बुटवल रामनगर मा अवस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले अग्रणी भूमिका निर्वाह गरेको छ ।
हृदयघातका कारण उपचारको लागि काठमाडौं लैजाने क्रममा धेरै जनाले बाटोमा ज्यान गुमाउनु परेपछि यहाँ पनि मुटु अस्पतालको आवश्यकता महसुस भयो । यस क्षेत्रका उद्योगीहरुको पहलमा २०७० सालमा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल स्थापना भयो । लुम्बिनी प्रदेशका जनता र रोटरी लगायत विभिन्न संस्थाहरुको सहकार्यमा यस अस्पतालको विकास हुँदै गयो । सरकारको सहयोग विना पनि जनता र स्थानीय संस्थाहरुको सहकार्यमा विकासको काम गर्न सकिन्छ भन्ने एउटा राम्रो उदाहरणको रुपमा यसलाई लिन सकिन्छ ।
शुरुमा ओपिडी सेवाबाट शुरु गरेको अस्पतालमा विस्तारै सेवा थप हुँदै गयो । वार्डमा २४ घण्टा ईमर्जेन्सी सेवा, ल्याब सुविधा, इसिजि, एक्सरे, इको, टिएमटी, होल्टर्, एबिपिएम हुँदै आइसियु र सिसियु सेवा पनि बिस्तार भयो । सुविधा थप गर्ने क्रममा क्याथ ल्याबको सुविधा पनि थप गरियो । क्याथ ल्याब थप भएपछि हृदयघात भएर उपचारको लागि काठमाडौं जानु पर्ने बाध्यता हट्यो । यसै अस्पतालमा एन्जिओग्राफी र एन्जिओप्लास्टी सेवा सुरु भयो । हृदयघातका बिरामीले समयमानै उपचार पाउने भए । यसैगरी सिटिस्क्यान सेवा थप भयो । त्यसपछि यस क्षेत्रमा मृगौलाका बिरामीको चाप बढ्दै जांँदा
सेवाग्राहीलाई डाइलायसिस गर्नु सजिलो होस भन्ने उद्धेश्यले यो सुविधा पनि थप भयो ।
अहिले सम्ममा एकहजार पांँचसय भन्दा बढीको एन्जिओग्राफी र पांँचसय भन्दा बढीको एन्जिओप्लास्टी भैसकेको छ । अहिले मुटुको सांँघुरो भएको भल्व लाई खुलाउने सेवा पिटिएमसी पनि थप भएको छ । साथै दुईसय जनाभन्दा बढी लाई पेसमेकर लगाउने काम भएको छ । धेरैजसो विरामी रुपन्देही, कपिलवस्तु, नवलपरासी, गुल्मी, अर्घखांँचीबाट आउंँछन । तर ३६ जिल्लाका बिरामीले यहाँबाट सेवा लिने गरेको तथ्यांंकले देखाउंँछ । एक लाख भन्दा बढीले ओपिडी सेवा, पच्चीस हजार भन्दा बढीले इमर्जेन्सी सेवा र बीस हजार भन्दा बढीले अन्तरंग सेवा लिएका छन । साथै लुम्बिनी प्रदेशको सबै भन्दा ठुलो डायलाईसिस सेन्टरको रुपमा यो परिचित छ ।
लुम्बिनी प्रदेशमा सबैभन्दा पहिले मुटुरोगको सेवा दिने र एक मात्र मुटु अस्पतालको रुपमा रहेको यस अस्पताल मुटुको विशिस्ट सेवा दिने पहिलो अस्पताल पनि हो । यस प्रदेशमा एन्जिओग्राफी, एन्जिओप्लास्टी, पेसमेकर राख्ने, पिटिएमसी आदि सेवा पहिलो पटक यसै अस्पतालमा शुरु भयो । त्यसैले लुम्बिनी प्रदेशकै गहना बनेको यो अस्पताल ऐतिहासिक महत्व बोकेको संस्था हो । मुटु
अस्पतालको रुपमा अझै पनि एक मात्र अस्पताल भए पनि अहिले क्याथ ल्याब सेवा अस्पतालमा पनि शुरु भएको छ । यसले गर्दा मुटु रोगका विरामीको लागि सेवाहरु अस्पतालमा पनि शुरु भएको र हुने क्रममा रहेको छ । यस हिसाबले लुम्बिनी प्रदेशमा पनि मुटुरोग उपचारको विकास हुँदै छ ।
मुटुरोगको लागि छाती चिरेर गरिने शल्यक्रियाको अझ पनि विकास हुन बाँकी छ । यो पनि सकेसम्म पहिलोपटक यसै अस्पतालमा शुरु गर्ने लक्ष्य रहेको छ । साथै मुटु रोगका अन्य विशिष्टिकृत सेवाहरु थप्ने पनि यो अस्पतालको लक्ष्य रहेको छ ।
रोग लागेर अस्पताल आउने विरामीलाई मात्र सेवा दिएर हुँदैन भन्ने हाम्रो धारणा छ । त्यसैले हामी बर्षेनी बिभिन्न जिल्ला र ठाउँ पुगेर स्वास्थ्य शिविर गर्ने अनि जनचेतना बढाउने कार्यक्रम गर्दै आएका र्छौ । शिविरमा जांँच र औषधि लगायत सम्पूर्ण सेवा निःशुल्क हुने गरेको छ । यस अस्पतालको इमर्जेन्सीमा आउने कोही बिरामीलाई पनि पैसाको अभावमा उपचारबाट वञ्चित हुनु पर्दैन । गरीब र असहाय विरामीलाई निःशुल्क सम्पूर्ण उपचार गरि घर पठाउने गरिएको छ । अहिले यस क्षेत्रमा गरीब र असहाय बिरामी लाई पठाउने थलोको रुपमा पनि यो अस्पताल परिचित हुंँदै आएको छ ।
यस अस्पतामा उपलब्ध सेवाहरु पनि सरकारी अस्पतालको हाराहारीमा छ । उत्कृष्ट सेवा होस र त्यो सेवा सर्वसुलभ होस भन्ने यस अस्पताल को मुल मर्म हो । यस लक्ष्य प्राप्तिको लागि यस भेगका जनता र बिभिन्न संस्थाहरु सँग हातेमालो गर्दै यो अस्पताल अघि बढि राखेको छ । यस क्षेत्रका जनता र रोटरी, रुपन्देही उद्योग संघ लगायत संस्थाहरुले यस अस्पताल लाई पु्ु¥याएको निरन्तर सहयोग पनि सह्रानीय छ । गरीब मुलुकमा सरकारले जनताको स्वास्थ्यमा खोजे जति टेवा दिने नसकेको अवस्थामा जनताले आफ्नो लागि गरेको यो मोडलको स्वास्थ्य सेवाको विकास पनि एउटा गतिलो उदाहरणको स्थापित भएको छ ।
