काठमाडौँ । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले एचआइभीको नयाँ सङ्क्रमणमा कमि आएको जनाइएको छ ।
सन् २००० मा चार हजार तीन सय ७० जना र सन् २०२१ मा छ सय ८० जना नयाँ सङ्क्रमित फेला परेका छन् । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सुधा देवकोटाले सङ्क्रमतिलाई उपचार प्रक्रियामा ल्याइएकाले सर्न कम भएको बताउनुभयो । उहाँले सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले नयाँ सङ्क्रमित कम भएको जानकारी दिनुभयो ।
“हामीले सङ्क्रमितको पहिचान गरेर उपचार पद्दतिलाई राम्रो बनाएका छौँ”, उहाँले भन्नुभयो, “सबै सङ्क्रमित उपचारमा आउने भएका र सर्न पनि कम भइरहेकाले नयाँ सङ्क्रमित कम हुँदै गएका छन् ।” उहाँका अनुसार हरेक वर्ष नयाँ सङ्क्रमित कम हुने गरेका छन् । यस्तै सन् २०२१ सम्म नेपालमा ३० हजार व्यक्ति एचआइभी सङ्क्रमित रहेका छन् ।
कुल सङ्क्रमितमध्ये शुन्य दशमलव १२ प्रतिशत सङ्क्रमण वयस्क मानिसमा र ४५ जना १४ वर्षभन्दा मुनिका बालबालिकामा एचआइभी सङ्क्रमण भएको तथ्याङ्कमा देखाइएको छ । यस्तै २०२१ सम्ममा नेपालमा २१ हजार सात सय २३ सङ्क्रमितले एन्टिरेट्रो भाइरस (एआरभी) उपचार लिइरहेका छन्, त्यो सङ्ख्या कूल एचआइभीको ७२ प्रतिशत मात्र हो ।
निर्देशक डा देवकोटाले अझै पनि उपचारबाट बाहिर रहेका करिब पाँच हजार सङ्क्रमितलाई उपचारमा ल्याउने हो भने सरकारले तोकेको लक्ष्य पूरा हुने बताउनुभयो । “अझै पनि करिब पाँच हजार सङक्रमित उपचारभन्दा बाहिर रहेका छन्”, उहाँले भन्नुभयो, “हामी ती सङ्क्रमितको पहिचान गरेर उपचारमा ल्याउने प्रयासमा रहेका छौँ ।”
उहाँले उपचार गरी भाइरल लोड ठिक भएका सङ्क्रमितको समाजमा घुलमिल हुनका लागि वातावरण बनाउने अभियानमा आफूहरु रहेको बताउनुभयो । “उपचारपछि ठिक भइरहेका सङ्क्रमितलाई जीविकोपार्जन गर्नेसम्बन्धी कार्यक्रम हामीले ल्याउने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “स्वस्थ भएका सङ्क्रमित आफै केही गर्न सकिन्छ कि भनेर स्वावलम्बन बनाउने तयारीमा हामी रहेका छौँ ।”
उहाँले एचआइभी सङ्क्रमितमाथि अझै पनि समाजमा लाञ्छना र भेद्भाव रहेकाले हटाउन आवश्यक रहेको बताउनुभयो । सन् २०२१ मा पाँच सय १० जनाको एड्सबाट मृत्यु भएको छ । सन् २००७ मा एक हजार सात सय ६५ जनाको एड्सका कारणले मृत्यु भएको छ । सन् २००७ भन्दा २०२१ मा ७१ प्रतिशतले कमि हो । केन्द्रका निर्देशक डा देवकोटाले सबैलाई उपचारमा ल्याइएको हुनाले मृत्यु दरमा कमि आएको बताउनुभयो । रासस