चितवन । स्वास्थ्य कार्यालय चितवन र राप्ती नगरपालिकाको संयुक्त आयोजनामा एकिकृत जनस्वास्थ्य अभियान तथा पोषण प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । राप्ती नगरपालिका वडा नम्बर १२ यौरालिटारमा आयोजना सञ्चालन गरिएको कार्यक्रम तीन दिन सम्म चलेको छ ।
मंसिर २२ र २३ गते आमा समूहहरुसंग तथा विद्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ भने २४ गते शनिबार एकिकृत बिशेष स्वास्थ्य शिबिर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शनिबारको कार्यक्रममा बालबालिकाको पोषण अबस्थाबारेमा जानकारी लिईएको थियो । यस्तै हाडजोर्नी रोग बिशेषज्ञ सेवा, नाक कान घाँटी रोग बिशेषज्ञ सेवा, दन्तरोग सबशेषज्ञ सेवा, स्त्री तथा प्रसुती रोग सबशेषज्ञ सेवा, प्रयोगशाला एबं भिडियो एक्सरे सेवा, आर्युर्वेद सेवाका प्रदान गरिएको हो ।
कार्यक्रममा २४५ जना भन्दा बढिले सेवा लिएको उहाँले बताउनुभयो । शिबिरका लागि भरतपुर अस्पताल, बकुलहर अस्पताल, भण्डारा अस्पताल, जिल्ला आयूर्वेद अस्पतालको प्राबिधिक सहयोग गरेका थिए । सो अबसरमा राप्ती नगरपालिकाका उपप्रमुख देवेन्द्र लामा, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाई, वडा अध्यक्ष, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखको सहभागिता रहेको थियो ।