काठमाडौं । गर्भावस्थामा महिलालाई त्यसअघि नदेखिएका विभिन्न स्वास्थ्य समस्या देखा पर्न सक्छन् । नियमित चिकित्सकको सल्लाहसँगै गर्भवतीले घरमै रहँदा पनि यो अवस्थामा विशेष ध्यान दिनुपर्छ । सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) का अनुसार गर्भावस्थामा यी अवस्थाहरूबारे विशेष ध्यान दिनुपर्दछ ।
१. डेट नपुगि शिशु जन्मिनसक्ने : सामान्यतया गर्भको पूर्ण अवधि ३९ देखि ४० सातालाई मानिन्छ । तर, विश्वभर प्रत्येक १० मध्ये एकजना शिशु गर्भ अवधि नपुग्दै जन्मिने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रतिवर्ष एक करोड ५० लाख शिशु ३७ साताभन्दा कम (प्रिम्याचोरिटी ) अवधिमा जन्मिने गरेका छन् । यसरी डेट नपुग्दै जन्मिएका शिशुमा विभिन्न अशक्तता देखिनुका साथै मृत्युसम्मको सम्भावना हुनसक्ने भएकाले अन्तिम महिनामा गर्भको अवस्था र खतराका लक्षणहरूबारे सजग रहनुपर्दछ ।
२. मधुमेहको जोखिम : कतिपय महिलालाई गर्भावस्थामा मधुमेहको समस्या देखिनसक्छ । यस्तो प्रकारको मधुमेहलाई ‘जेस्टेस्नल डाइबिटिज’ भनिन्छ । यो समस्या गर्भवती भएको २४ देखि २८ हप्ताभित्र देखिनसक्छ । सीडीसीका अनुसार ६ देखि ९ प्रतिशत महिलामा गर्भावस्थामा यो समस्या देखिने गरेको छ । यसले आमालाई मात्रै नभई जन्मिने शिशुलाई समेत असर गर्नसक्ने भएकाले थाहा पाउनसाथ चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।
३. नियमित फोलिक एसिड/आइरन खाने : फोलिक एसिडमा हुने भिटामिन ‘बी’ले शिशुको शारीरिक संरचनाको विकासमा मद्दत पुर्याउँछ । आइरन चक्कीले रगतमा हेमोग्लोबिनको मात्रा बढाएर रगतमा रक्तसञ्चारमा समेत सहजता पुर्याउँछ । त्यसैले गर्भावस्था अगाडि र गर्भावस्थामा यी दुई कुराहरू नियमित खानु महत्त्वपूर्ण हुन्छ ।