चितवन । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले सर्लाहीका ३ हजार ३९ जना आँखाका बिरामीको उपचार गरेको छ । अस्पतालले मंसिर २२ देखि २९ गतेसम्म सर्लाहीका दुई ठाउँमा शिविर सञ्चालन गरी आँखा परीक्षण र शल्यक्रिया गरेको हो ।
अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार डाक फाउण्डेशनको सहयोगमा, गोडैता नगरपालिका र सगुन बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा आधारभूत स्वास्थ्य चौकी, गडौटामा मंसिर २३ देखि २७ गतेसम्म शिविर सञ्चालन गरिएको हो । उक्त शिविरमा ८९४ जनाको आँखाको निःशुल्क परीक्षण र औषधि वितरण गरिएको उनले जानकारी दिए । साथै सो शिविरमा मंसिर २६ र २७ गते २४१ जनाको निःशुल्क मोतियाविन्दको शल्यक्रिया गरिएको छ ।
यस्तै सर्लाहीकै हरिवनस्थित चतुरभुजेश्वर शिव मन्दिरमा गत मंसिर २३ देखि २९ गतेसम्म सञ्चालन गरिएको शिविरमा २ हजार १४५ जनाको निःशुल्क आँखा परीक्षण र औषधि वितरण गरिएको घिमिरेले जानकारी दिए । सो शिविरमा २६२ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।
दुवै शिविरमा भरतपुर अस्पतालका नेत्ररोग विशेषज्ञ डा. पुष्पा गिरी श्रेष्ठ र डा. रञ्जित साहले उपचार तथा शल्यक्रिया गरेका हुन् ।
