पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाले गाउँ गाउँमै गएर नागरिकलाई एकिकृत घुम्ती शिविर सञ्चालन गरेको छ । गाउँपालिकामा आएर गर्नुपर्ने सबै काम वडामै पुगेर सेवा दिएको हो । पालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट ७ हजार १ सय ८३ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।
शिविरमा स्वास्थ्य सेवातर्फ सबै रोगहरूको जाँच, उपचार, परामर्श २ हजार २ सय ६१ जनाले लिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिनुभयो । शिविरमा ल्याब सेवा ३ सय २० जनाले लिएका छन् । भिडियो एक्स–रे १ सय २८, आँखा जाँच गर्ने १ हजार १ सय १३ जना रहेका छन् । कृषितर्फ १ हजार १ सय ६९, पशु सेवातर्फ ८ सय ३७, आयुर्वेदतर्फ ४ सय ४५ जनाले सेवा लिएका छन् । वडाको योजनालगायत १ सय ९, शिक्षातर्फ ६६ जनाले सेवा लिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
घरदैलोमै डाक्टरसहितको स्वास्थ्य जाँच, भिडियो एक्स–रे सेवा, प्रजनन स्वास्थ्य सेवा, आँखा जाँच, स्त्री रोग विशेषज्ञ सेवा लिन पाएपछि गाउँ गाउँबाट नागरिक शिविरसम्म आएका थिए ।