भक्तपुर । रगत नपाए भक्तपुर जानु भन्ने अभियान चलाइरहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले रगत तथा रक्ततत्व आवश्यक पर्ने भक्तपुरका बिरामीहरूलाई अबदेखि निःशुल्क उपलब्ध गराउने भएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले जिल्लाका चार वटै नगरपालिका भित्रका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने गरी सम्झौता भएसँगै जिल्लाभरका रगत तथा रक्ततत्व आवश्यक पर्ने बिरामीले निःशुल्क पाउने भएका हुन् ।
जिल्ला शाखाका मन्त्री परशुराम पाण्डे र सुर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापाविच नगरपालिका भित्रका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने गरी बिहीबार सम्झौता भएको छ ।
यस अघि चाँगुनारायण, मध्यपुरथिमी र भक्तपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी विच निःशुल्क रगत उपलब्ध गराउने गरी सम्झौता भइसकेको भक्तपुर जिल्ला शाखा सभापति मनोजकुमार थापाले बताउनुभयो ।
रगत तथा रक्ततत्व आवश्यक पर्ने बिरामीका आफन्तहरूले रगत लिन जाँदा भक्तपुरका जुनसुकै नगरपालिका भित्र बसोबास गरेको परिचय खुल्ने कागजात लिएर जानुपर्ने सभापति थापाको भनाइ छ ।
स्वयंसेवी रक्तदाताले दान गरेको रगतको शुल्क हुँदैन तर रगतको परिक्षण, रक्तव्याग, भण्डारण, सङ्कलन लगायतका क्रममा लाग्ने खर्च बापत लिइदै आएको रकम भक्तपुरका चारवटै नगरपालिकाले जिल्ला शाखा भक्तपुरलाई उपलब्ध गराउने सहमति भएको छ ।
रगत वितरणको आधारमा रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरलाई उपलब्ध गराउने सहमति भएसँगै जिल्लाका बिरामीलाई रगत तथा रक्ततत्व निःशुल्क उपलब्ध गराउन सकिएको जिल्ला शाखा सभापति थापाको भनाइ छ ।