कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले ग्रामीण क्षेत्रका बासिन्दाको निःशुल्क आँखा उपचार गरेको छ। बिहीबार र शुक्रवार भएको शिविरमा १ हजार ५१ जनाले आँखा जाँच गराएका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञप्रसाद अधिकारीले बताउनुभयो ।
शिविरमा १ सय ४३ जनाको मोतिया विन्दुको निःशुल्क अप्रेसन गरिएको छ भने २०१ जनालाई चस्मा वितरण गरिएको अधिकारीले बताउनुभयो । गाउँपालिकाको विकट क्षेत्र जवावैराठ, नेवलीगंज, नौडिहवा, मद्यनगर, गेडुवाजोत लगायत गाउँका बासिन्दाले सेवा लिएका छन्।
ग्रामीण भेगमा जनतालाई उपचारको दायरामा ल्याउन शिविर शुरु गरिएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो। विपन्न समुदायलाई स्वास्थ्य परीक्षण गराउन आर्थिक समस्या पर्ने भएकाले गाउँघरमा चिकित्सक बोलाएर शिविर सञ्चालन गरिएको थापाले बताउनुभयो।
आँखा उपचार शिविर २ दिनसम्म रहे पनि बिरामी बढेकाले एक दिन थपिएको थियो । शिविर विजयनगर गाउँपालिका-६ स्थित हरिबोध आधारभूत विद्यालयमा सञ्चालन गरिएको थियो । छन्द काले बाबु नारायणी आँखा अस्पताल बहादुरगन्जको प्राविधिक टोलीले जाँच गरेको हो।
सामान्य प्रकारका बिरामीको शिविरबाट उपचार हुने र अप्रेसन गर्नुपर्ने बिरामीको पनि गाउँपालिकाको सहयोगमा अप्रेसन गरिएको आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताउनुभयो। जिल्लाका सबै पालिकामा आँखाका बिरामी फेला परेकाले पालिकासँग सहकार्य गरेर शिविर आयोजना गरिने विश्वकर्माले बताउनुभयो।