जनकपुरधाम । धनुषा जिल्लाको नगराईन नगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको बजेट पारित नभएका कारणले स्वास्थ्यका कर्मचारीहरूले तलब भत्ता नपाएपछि आन्दोलित भएपछि नियमित खोप कार्यक्रम पूर्णरुपमा बन्द रहेको छ ।
दुई महिना देखि नियमित खोप कार्यक्रम प्रभावित भएका कारणले बालबालिकाहरूमा प्राणघातक रोगको जटिलता आउने खतरा रहेको छ । करिब ६ महिनाको तलब भत्ता नपाएका स्वास्थ्य क्षेत्रका कर्मचारीहरू तलब भत्ताको माग गर्दै आन्दोलनमा उत्रेपछि नगराईन नगरपालिकामा सबै प्रकारका नियमित खोप सेवा बन्द भएको छ ।
नगरपालिकामा रहेका सबै प्रकारको खोप सेवा प्रभावित भएका कारणले जन्म देखि १५ महिनासम्मका बालबालिकाहरूलाई दिइने विभिन्न प्रकारको नियमित खोप सेवा बन्द भएको छ । क्षय रोगबाट शिशुलाई जोगाउनका लागि वि सि जि, पेन्टा, पोलियो, एफ आई टि भी, निमोनियाबाट जोगाउनका लागि पिसीभि, दादुरा रुवेला सहितका १३ वटा लक्षित खोप दिने गरिन्छ ।
नगरपालिकामा कर्मचारीहरू हडतालमा उत्रेका कारणले अत्यन्तै संवेदनशील खोप कार्यक्रम बन्द रहेका कारणले बालबालिकाको स्वास्थ्यमा समस्या आउने खतरा रहेको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका खोप अधिकृत रामउद्गार झाले खोप नलिएको खण्डमा नेपालगन्ज जस्तै समस्या आउने जोखिम भएको बताउनु भयो ।
शिशुहरूलाई समयमा खोप दिएको खण्डमा प्राणघातक रोगबाट जोगाउन सकिने भएकाले नियमित खोज जस्ता कार्यक्रम रोक्ने अवस्था आउन नहुने उहाँको कथन रहेको छ । नगराईन नगरपालिकामा नगरप्रमुख तथा उपप्रमुखका बीचमा योजनाको सञ्चालन तथा अनुगमन सहितको विषयमा नीतिगत विवाद भएका कारणले बजेट कार्यक्रम पास हुन नसकेपछि कर्मचारीहरूले तलब पत्ता नपाएपछि हडतालमा उत्रेपछि खोप जस्तो संवेदनशील विषय रोकिएको छ ।
समस्या समाधानका लागि पटक पटक प्रयास गर्दा समस्या समाधान नभएका कारणले खोप जस्तो संवेदनशील विषय बन्द हुनु चिन्ताको विषय भएको बताउँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले जानकारी दिनु भएको छ ।