काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा चालु आर्थिक वर्षको फागुन ३ गतेसम्म ४६ वटा उजुरी परेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा ४४ र ०७८/०७९ मा ४६ वटा उजुरी परेकोमा यसवर्ष भने सात महिनाकै अवधिमा ४६ वटा उजुरी परेका हुन् ।
काउन्सिलमा दर्ता भएकामध्ये सबैभन्दा धेरै अनलाइनको माध्यमबाट भएका हिंसाका घटना छन् । झन्डै ५० प्रतिशत घटनामा चिकित्सकहरूमाथि सामाजिक सञ्जालमार्फत् गालीगलौज तथा गलत प्रचार भएका घटना छन् । कतिपय चिकित्सकहरूबाट नै बिरामीको अनुमतिबिना फोटो, भिडियो सार्वजनिक भएका घटना पनि छन् ।
यी बाहेक मेडिकल काउन्सिलको दर्ता नम्बर दुरुपयोग गरी चिकित्सकहरूको प्रचार गरिएका घटना पनि काउन्सिलमा दर्ता भएका छन् । काउन्सिलमा दर्ता भएकामध्ये २५ प्रतिशत भने कानुनी उपचारमा जानु नपर्ने प्रकृतिका घटना आउने गरेको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद पौडेलले बताए ।
अन्य घटनामा भने काउन्सिलको अनुसन्धान समितिले छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउने गरेको छ ।
