चितवन । पछिल्लो समय मानसिक स्वास्थ्य समस्याबाट धेरै सङ्ख्यामा मानिसहरू प्रभावित भइरहेको विज्ञहरुको भनाई छ।
मानसिक रोगको आवश्यकता अनुसार उपचार,पुनर्स्थापना र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज चितवनस्थित भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गर्नेबारे सम्झौता भयको छ।
संयुक्त राज्य अमेरिकामा रही यस क्षेत्रमा कार्यरत विषेशज्ञ डाक्टर र जनस्वास्थ्य विज्ञहरुको संस्था’नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थ’को मुख्य सहयोगमा सो केन्द्र स्थापना गरिने भएको हो।
केन्द्र स्थापना गर्न करिब पाँच करोडको लगानी आवश्यक पर्ने अनुमान गरिएको छ । सम्झौतामा उल्लेख गरिए अनुसार यो संस्था स्थापना गर्दा लाग्ने लगानीमध्ये ५० प्रतिशत नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले,२५ प्रतिशत भरतपुर अस्पतालले र बाँकी २५ प्रतिशत अन्य संस्थाबाट सहयोग रहने अपेक्षा गरिएको छ ।
आज सोमवार भयको सम्झौता कार्यक्रममा नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थका कार्यकारी निर्देशक श्रीधर पौडेल र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो।
सम्झौता कार्यक्रममा अस्पतालका अध्यक्ष राजु पौडेल,मानसिक रोग विभागका प्रमुख डा.सुनिल कुमार शाह,डा.खगेन्द्र काफ्ले,नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुली लगायतको उपस्थिति रहेको थियो।
भरतपुर अस्पतालमा निर्माण हुने यस राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र प्रथम चरणमा १५ देखि २५ वेडबाट सुरु हुँदै १०० वेड शैयाको बन्नेछ ।
