युद्धबाट छटपटिएका घाइते विरामी सिपाहीहरुको शारीरिक र मानसिक घाउमा निस्वार्थ प्रेमभावले सेवा गरी आज विश्वभर नै एउटा अनुपम उदाहरण “द लेडी द ल्याम्प” बाट परिचित फ्लोरेन्स नाइटिङ्गेल आधुनिक नर्सिङ पेशाको जन्मदाता हुन् । उनकै समयदेखि नर्सिङ पेशामा नयाँ आयाम आएको हो ।
व्यक्तिको शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक सम्वेदनाहरुलाई बैज्ञानिक तरीकाले गहन अध्ययन गर्ने सीपमूलक विषय नर्सिङ हो । नेपालमा नर्सिङ शिक्षा र सेवाको औपचारिक विकास बीर अस्पतालको स्थापना वि. सं. १८९० देखि १९४७ बाट शुरु भएको पाइन्छ । अस्पतालको चार भित्तामा सिमित र्निर्सङ पेशा रुपान्तरित सिद्धान्तलाई अङ्गाल्दै अस्पतालमा मात्र सीमित नरही वर्तमानमा समुदायसम्म तीव्र गतिमा फैलिदैछ ।
आज विश्वमा स्वास्थ्य क्षेत्र भित्र यो विषय अभिन्न र महत्त्वपूर्ण अङ्गको रुपमा नर्सिङ स्थापित भइसकेको छ । चौविसै घण्टा अथक समर्पण र पे्रमसाथ विरामीको पूर्ण स्वास्थ्य लाभ, रोगको रोकथाम, प्रबन्धात्मक, उपचारात्मक र पुनस्र्थापनामा तल्लिन रहने नर्सहरुलाई अस्पतालको मुटु मान्ने चलन छ । यदि अस्पतालमा दक्ष नर्सिङ जनशक्ति छैन भने जतिसुकै अत्याधुनिक प्रविधि र विज्ञ जनशक्ति भएर मात्र विरामीको चाँडो स्वास्थ्य सुधार हुँदैन, विरामीलाई औषधि उपचारसँगै उचित स्याहार सुसार चाहिन्छ ।
सेवा र समर्पणको उदाहरण मानिने नर्सिङ अध्ययन नेपालको वर्तमान परिप्रेक्ष्यमा बेरोजगार उत्पादन गर्ने थलो वा विदेश जाने माध्यमको रुपमा रुपान्तरित हुँदैछ । नेपालको कमजोर अर्थतन्त्र र राजनीतिक अस्थिरताको कारणले स्वास्थ्य उपचार, शिक्षा, प्रविधि, सञ्चार प्रविधि र वित्तीय विकास अन्य विकसित राष्ट्रको तुलनामा धेरै नाजुक रहेको छ । विकसित राष्ट्रहरुमा रोजगारीको अवसर, कामको सम्मान, कार्यक्षेत्रमा सुरक्षा, गुणस्तरीय सेवा तथा बैज्ञानिक पारिश्रमिक आदि पक्षहरु विकाशोन्मुख राष्ट्रका जनशक्तिहरुलाई आकर्षणका कारणहरु बनिरहेका छन् ।
आज पनि नेपालमा योग्यता र दक्षता अनुसार नर्सले रोजगार पद र जिम्मेवारी नपाउने, मापदण्ड अनुसार नर्स र विरामीको अनुपात लागू नभएको, नियम अनुुसार नर्स नराख्ने, काममा ओभरलोड, घर परिवार सबै छोडेर वर्षौँसम्म दुर्गममा बस्नु पर्ने बाध्यता, भोलेन्टियरको रुपमा तालिम अवधि भनेर बिना तलब नर्स राख्ने चलन, नर्सलाई ठेक्का मार्फत वा दैनिक ज्यालादारीमा राख्ने, निजि स्वास्थ्य संस्थाहरुमा रोजगारीको सुरक्षा नरहेको, बैज्ञानिक प्रणाली अनुसार कार्य स्थलमा काम गर्ने वातावरण नपाएको साथै दैनिक जीवन सुधार नभएका लगायत विविध कारणहरु जिवितै छन् ।
यस्ता समस्याका चाङले थिचिएका नेपालका नर्सहरु विदेश पलायन हुने क्रम अझै बढ्दो छ । नेपाली नर्सहरु युरोप, अस्टे«लिया, अमेरिका जस्ता राष्ट्रमा विद्यार्थी भीसामा जाने, उतै काम गरी स्थायी बसोबासको स्वीकृती लिएर परिवार सहित बस्न बाध्य छन् ।
नेपालको स्वास्थ्य क्षेत्रमा नर्सिङ जनशक्ति ठूलो सङ्ख्यामा उपस्थित भएपनि सङ्घीयतापछि आएको नयाँ संरचनाको विषयमा छलफल गर्न, नीति नियम बनाउन स्वास्थ्य मन्त्रालयले नर्सलाई प्रतिनिधि नराखेको पाइन्छ । सरकारी संस्थामा समान अध्ययन र स्तरका डाक्टरहरुको दरबन्दी र तह नर्सको तुलनामा एक तह माथि राखिएको छ । साथै अस्पताल प्रमुखको तहमा डाक्टरहरुलाई मात्र राख्ने लोक सेवा आयोगको नियमले राज्यले नै विभेद गरेको स्पष्ट देखिन्छ । यसो हुनुमा सम्पूर्ण नर्सहरुको हक, अधिकार, काम र स्तरीयता मापन गर्ने संस्थाहरु नेपाल नर्सिङ संघको पनि कमजोरी रहेको छ ।
व्यक्तिगत स्वार्थको लागि पेशाप्रति बफादार बन्न नसक्नु, दलीय राजनीतिको चङ्लोमा जकडिनु तथा आफु र आफ्नो पेशालाई बदलिदो समय र समाजको माग अनुरुप परिस्कृत गर्न नसक्नु जस्ता कारणहरुले यति ठूलो त्याग, सेवा र समर्पणका रुपमा अनुपम उदाहरण मानिने नर्सिङ पेशालाई अझ विस्तार गरी उच्चस्तरीय बनाएर अघि बढ्नुपर्ने आजको चुनौती हो ।
व्यक्ति, समाज र देशको स्वास्थ्य क्षेत्रको विकासमा नर्सको निकै महत्त्वपूर्ण भूमिका छ । हाम्रालाई भन्दा राम्रा, दक्षलाई अवसर दिनुपर्ने तथा प्रोत्साहन गर्नुपर्ने जरुरी छ । पेशाको मर्यादा र मान्यतामा रही सम्पूर्ण नर्सहरु एकजुट भएर शहर केन्द्रित प्रवृत्ति र विभेदकारी व्यवहारबाट मुक्त हुने हो ,भने नर्सिङ पेशामा नयाँ आयाम ल्याउन सकिन्छ । यो नै वर्तमान समयको आवश्यकता हो ।
(लेखक डा. विष्णु विष्ट सिनियर नर्स हुुुनुहुन्छ।)