मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले नेपाल सरकारले बालबालिकाका लागि पहिलो पटक सञ्चालन गर्न लागेको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान सफल बनाउन आग्रह गर्नुभएको छ ।
जिल्ला खोप समन्वय समिति मकवानपुरको मङ्गलवार बसेको बैठकमा प्रमुख खुलालले सरकारले देशभरका १५ महिनादेखि १५ वर्ष उमेर समूहलाई ७५ लाख बालबालिकालाई लक्षित गरेर सुरु गर्न लागेको खोप अभियान सफल बनाउन सबै क्षेत्रका सरोकारवालालाई आव्हान गर्नुभयो ।
प्रमुख खुलालले सबै सरोकारवालालाई आ–आफ्नो क्षेत्रबाट सहयोग गरेर खोप अभियान सफल बनाउन आव्हान गर्नुभयो । बैठकमा खोप अभियान सफल बनाउन जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले तयार पारेको कार्ययोजनाबारे जानकारी गराइएको थियो । खोप अभियान शुभारम्भ तथा नियमित खोप कार्यक्रम सफल बनाउन स्वास्थ्य कार्यालयले तयार पारेको कार्य योजना आजको बैठकले अनुमोदन समेत गरेको प्रमुख खुलालले बताउनुभयो ।
बैठकमा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख भीमसागर गुरागाईँले सरकारले देशभरका १५ महिनादेखि १५ वर्ष उमेर समूहलाई ७५ लाख बालबालिकालाई लक्षित गरेर सुरु गर्न लागेको खोप अभियानको सङ्घीय सरकारका स्वास्थ्य मन्त्री बिरोध खतिवडाको मकवानपुर, मनहरी गाउँपालिका स्थित भोजसिद्ध माविबाट सुरु गर्नु हुने जानकारी दिनुभयो ।
अभियानलाई सफल बनाउन अभिमुखीकरण, खोप केन्द्र, प्रचार प्रसार, खोपको उपलब्धता लगायत विषयमा काम भइरहेको उहाँले बताउनुभयो ।
चैत २५ गतेबाट सुरु भएर वैशाख १८ गतेसम्म सञ्चालन हुने अभियानमा मकवानपुरका १ लाख ८ हजार ४८६ जना बालबालिका लाभान्वित हुने उहाँले बताउनुभयो । गुरागाईँका अनुसार जिल्लामा कुल ६०८ वटा खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुने छ । साथै अभियानमा ८७० जना खोप कर्ता र १ हजार ३९० जना स्वयंसेवक परिचालित हुने छन् ।
१५ बर्ष उमेरसम्मका बालबालिकालाई टाइफाइडको संक्रमण हुने र जटिलता हुने दर उच्च रहेकोले खोप लगाउन अभियान नै सञ्चालन गरिएको गुरागाईँले बताउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनले गुणस्तर प्रमाणित गरेको तथा भारतमा उत्पादित खोप लगाउन लागिएको हो ।