जनकपुरधाम । जनकपुरधाममा रहेको औषधि पसलहरूको औषधि व्यवस्था विभागको शाखा कार्यालय वीरगन्जबाट आएको टोलीले अनुगमन गरेको छ ।
उता विभागले अनुगमन गर्नका लागि आएको थाहा पाएर दर्ताबिना अवैध रुपमा सञ्चालित औषधि पसल सञ्चालकहरू पसल नै बन्द गरेर भागेका थिए । अनुगमन गरिरहेको सुइँको पाएपछि दर्ता नभएका थुप्रै औषधि पसले पसल बन्द गरेर फरार भएका थिए ।
दर्ताबिनै अवैध रुपमा सञ्चालनमा रहेको औषधि पसल अनुगमन गरिरहेको थाहा पाएर पसल सिल हुने डरले व्यवसायीले जनकपुरधामका धेरै औषधि पसल बन्दै राखेको वा बन्द गरेर हिँडेको हुनसक्ने वीरगन्ज फार्मेसी अधिकृत सर्फराज अहमद खानले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा विभागले बिना दर्ता सञ्चालित चार औषधि पसल सिल गरेको छ । रामा मेमोरियल हस्पिटलभित्रको औषधि पसल दर्ता नरहेको पाइएपछि सिल गरेको अधिकृत खानले जानकारी दिनुभयो ।
बुधबार पनि विभागले जनकपुरधाममा अनुगमन गरेको थियो । सो क्रममा दर्ता नरहेका तीन औषधि पसल सिल गरेको थियो ।
औषधि पसल सञ्चालनको अनुमति पाउन निक्कै झन्झटिलो प्रक्रिया रहेको र वि फार्मेसी गरेको व्यक्ति हुनुपर्ने कानूनी व्यवस्था रहेको छ । यसकारण विना दर्ता नै औषधि पसल सञ्चालन गर्नेको सङ्ख्या जनकपुरधामसहित देशभरि नै अधिक रहेको छ ।