काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) की श्रीमती सविना काफ्लेलाई एपेन्डिसाइटिसको समस्या देखिएपछि उनको त्रिवि शिक्षण अस्पतालमा बिहीबार एपेन्डिसाइटिसको सफलतापूर्वक शल्यक्रिया (अपरेसन) गरिएको छ। अचानक पेट दुख्ने समस्या देखिएपछि महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेकी काफ्लेको स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस पुष्टि भएको थियो।
अस्पतालका वरिष्ठ शल्यचिकित्सक डा. प्रशान्तवीरसिंह कंसाकार नेतृत्वको विशेषज्ञ टोलीले बिहीबार बिहान शल्यक्रिया गरेको अस्पतालका सहायक सूचना अधिकारी कालीप्रसाद रोसयराले जानकारी दिए। उनका अनुसार पेट दुखेर उपचारका लागि आएकी काफ्लेको जाँचका क्रममा एपेन्डिसाइटिस देखिएपछि तत्काल अपरेसन गरिएको हो।
शल्यक्रियापछि अहिले उनको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको चिकित्सकहरूले जनाएका छन्। शल्यक्रियापछि उनलाई वार्डमा सारिएको छ।
