लुम्बिनी । राष्ट्रिय मुटु तथा फोक्सो समाज (NHLS), नेपालको चौथो अन्तर्राष्ट्रिय सम्मेलन–२०२६ रुपन्देहीको भैरहवामा सम्पन्न भएको छ। प्रतिनिधिसभा सदस्य तथा वरिष्ठ स्नायु रोग विशेषज्ञ डा. लेखजंग थापाको विशेष आतिथ्यतामा सम्पन्न सम्मेलनले मुटु तथा फोक्सोसम्बन्धी रोगको बढ्दो जोखिम नियन्त्रण, प्रारम्भिक पहिचान र गुणस्तरीय उपचार सेवा विस्तारका लागि सरकारसँग आग्रह गर्दै १८ बुँदे घोषणापत्र जारी गरेको छ।
समाजका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. शंकर लौडारीले मुटु तथा फोक्सोसम्बन्धी रोगको उपचारमा मात्र नभई रोकथाम र प्रारम्भिक पहिचानमा समेत राज्यले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले यस्ता रोगको बढ्दो जोखिम नियन्त्रण गर्न छुट्टै राष्ट्रिय रणनीति तथा कार्ययोजना बनाएर प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो।
घोषणापत्रमा मुटु तथा फोक्सोसम्बन्धी रोगलाई राष्ट्रिय स्वास्थ्य प्राथमिकतामा राख्न, राष्ट्रियस्तरमा स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्न तथा उपचार सेवा काठमाडौंमा मात्र सीमित नराखी प्रदेश र जिल्ला तहसम्म विस्तार गर्न जोड दिइएको छ।
त्यस्तै, हृदयाघातका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन राष्ट्रिय नेटवर्क विस्तार, स्वास्थ्य बीमामार्फत जीवनरक्षक औषधि तथा जटिल उपचार सेवा सुनिश्चित गर्न र बालबालिकामा देखिने बाथमुटुरोग तथा जन्मजात मुटुरोगको प्रारम्भिक पहिचानलाई प्राथमिकता दिन आग्रह गरिएको छ।
सम्मेलनले वायु प्रदूषण तथा धूमपान नियन्त्रण, स्वस्थ जीवनशैली प्रवर्द्धन, राष्ट्रिय रोग रजिस्ट्री स्थापना, अनुसन्धान, दक्ष जनशक्ति उत्पादन र आधुनिक प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको सुरक्षित प्रयोगमा समेत जोड दिएको छ।
सन् २०१६ मा स्थापित NHLS ले निरन्तर चिकित्सा शिक्षा (CME), वैज्ञानिक छलफल, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यमार्फत योगदान पुर्याउँदै आएको छ। सम्मेलनले आम नागरिकलाई नियमित स्वास्थ्य परीक्षण गर्न तथा रोगको उपचारसँगै रोकथाम र प्रारम्भिक पहिचानमा लगानी बढाउनसमेत आग्रह गरेको सम्मेलनका स्थानीय संयोजक डा. समीर गौतमले ‘स्वास्थ्य दर्पण न्युज’लाई जानकारी दिनुभयो।

