दीर्घरोग अर्थात् लामो समयसम्म रहने स्वास्थ्य समस्याहरूले मानिसको दैनिक जीवनलाई प्रभावित पारिरहेका हुन्छन् । मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मिर्गौला रोग, दम तथा थाइराइडजस्ता रोगहरू दीर्घकालीन स्वास्थ्य समस्याका उदाहरण हुन् । यस्ता रोगको उपचारमा नियमित औषधि सेवन जति महत्वपूर्ण हुन्छ, त्यति नै खानपान र जीवनशैलीमा ध्यान दिनु पनि आवश्यक हुन्छ । औषधि सेवन गरिरहेको छु भन्दैमा खानपानमा लापरबाही गर्नु उचित हुँदैन ।
सन्तुलित खानपान
विशेषगरी मधुमेहका बिरामीले चिनी तथा गुलियो पदार्थको सेवन नियन्त्रण गर्नुपर्छ । सेतो चामल, मैदाबाट बनेका परिकार तथा अत्यधिक प्रशोधित खानेकुराको मात्रा घटाउँदै फाइबरयुक्त खाद्य पदार्थ, सागसब्जी, गेडागुडी र उपयुक्त मात्रामा फलफूल खानु राम्रो हुन्छ । एकैपटक धेरै खाना खानुभन्दा नियमित समयमा सन्तुलित भोजन गर्नु उपयोगी हुन्छ ।
त्यस्तै, उच्च रक्तचाप भएका व्यक्तिले नुनको मात्रा कम गर्नुपर्छ । अचार, चाउचाउ, चिप्स, प्याकेटमा पाइने प्रशोधित खानेकुरा तथा अत्यधिक नुन भएका परिकारबाट टाढा रहनु राम्रो हुन्छ । मुटुरोग भएका व्यक्तिले चिल्लो, बोसोयुक्त तथा ट्रान्स फ्याट भएका खानेकुरा कम गर्दै स्वस्थकर बोसो, सागसब्जी, फलफूल र फाइबरयुक्त खानेकुरालाई प्राथमिकता दिनुपर्छ ।
मिर्गौला रोग भएका बिरामीले पनि खानपानमा विशेष सावधानी अपनाउनुपर्छ । उनीहरूको रोगको अवस्था र मिर्गौलाको कार्यक्षमताअनुसार प्रोटिन, नुन, पोटासियम, फस्फोरस तथा पानीको मात्रा निर्धारण गर्नुपर्ने हुन सक्छ । त्यसैले चिकित्सक वा पोषणविद्को सल्लाहबिना कुनै पनि खाद्य पदार्थ पूर्ण रूपमा बन्द गर्ने वा अत्यधिक सेवन गर्ने गर्नु हुँदैन ।
नियमति औषधि सेवन
चिकित्सकले दिएको सल्लाहअनुसार दीर्घरोगीले नियमित औषधि सेवन गर्नुपर्छ । आफूलाई राम्रो महसुस भयो भन्दैमा औषधि बन्द गर्नु, मात्रा घटाउनु वा बढाउनु जोखिमपूर्ण हुन सक्छ । केही औषधि खानाअघि र केही खानापछि सेवन गर्नुपर्ने हुन्छ । त्यसैले औषधिको सही समय र तरिकाबारे जानकारी लिनुपर्छ ।
त्यसैगरी, औषधि सेवन गरिरहेका व्यक्तिले चिकित्सकको सल्लाहबिना जडीबुटी, आयुर्वेदिक औषधि वा अन्य सप्लिमेन्ट प्रयोग गर्नु हुँदैन । यस्ता पदार्थले नियमित औषधिसँग प्रतिक्रिया गर्न सक्छन् ।
जीवनशैलीमा सुधार
दीर्घरोग नियन्त्रणका लागि खानपान र औषधिसँगै स्वस्थ जीवनशैली अपनाउनु आवश्यक छ । नियमित शारीरिक व्यायाम, पर्याप्त निद्रा, तनाव व्यवस्थापन र धूमपान तथा मद्यपानबाट टाढा रहनु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।
आफ्नो रोगअनुसार चिकित्सकको सल्लाहमा दैनिक हिँडडुल तथा हल्का व्यायाम गर्न सकिन्छ । साथै, नियमित स्वास्थ्य परीक्षण गराउने, रक्तचाप, रगतमा चिनी तथा आवश्यक अन्य परीक्षण गर्ने बानी बसाल्नु पर्छ ।
दीर्घरोग पूर्ण रूपमा निको नहुन सक्ने अवस्थामा पनि उचित उपचार, नियमित औषधि सेवन, सन्तुलित खानपान र स्वस्थ जीवनशैलीबाट रोगलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिन्छ । रोग लागेपछि मात्र होइन, रोग नियन्त्रणका क्रममा पनि आफ्नो खानपान र दैनिक व्यवहारप्रति सचेत हुनु आवश्यक छ ।
याद राखौँ, दीर्घरोग नियन्त्रणको आधार औषधि मात्र होइन, सही खानपान, नियमित व्यायाम र अनुशासित जीवनशैली पनि हो ।
