गैंडाकोट । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलद्वारा लिखित ‘लय छुटेको समय’ नामक पुस्तक सार्वजनिक भएको छ ।
नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले शनिबार नवलपुरमा आयोजित सो पुस्तकको विमोचन गर्नुभयो । लेखक डा पौडेल ‘अर्थोपेडिक सर्जन’ हुनुहुन्छ ।
पुस्तक विमोचन गर्दै कांग्रेसका नेता डा कोइरालाले डा पौडेलले समाज बुझेर पुस्तक लेखेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “उपचारमा व्यस्त हुने चिकित्सकले लेखे पनि पुस्तकको भाषा र प्रस्तुति रुचिकर र रसिलो छ । समाजको आवश्यकता बुझेर लेखेको पाएँ, उहाँ चिकित्सकमात्रै नभएर समाजशास्त्रमा स्नातकोत्तर गरेको व्यक्ति भएका कारणले यो सम्भव भएको हो ।”
लेखक डा पौडेलका अनुसार ‘लय छुटेको समय’ कोरोना महामारीका बेलामा लेखिएको पुस्तक हो । यसमा दुई खण्ड छन् । पहिलोमा उहाँले बिरामीसँग जोडिएका संस्मरण समेट्नुभएको छ । बिरामीको मनोविज्ञान र आफ्नो अनुभूतिको समिश्रण समेटिएको यो खण्ड रोचक पाइन्छ । बिरामीका समस्या, अप्ठ्यारा परिस्थिति तथा बाध्यतालाई उहाँले रोचक कहानीको स्वरुप दिनुभएको छ । डा पौडेलले भन्नुभयो, “म गुरुको हातबाट किताब सार्वजनिक होस् भन्ने चाहन्थेँ त्यो आज भयो ।”
पुस्तकमा कोरोनाकालमा लेखेका केही डायरीहरूका साथै बिरामी र चिकित्सकको सम्बन्ध र समस्याजस्ता विषय समेटिएको छ । निबन्ध विधाअन्तर्गत रहेको यो किताबमा कविता, हाइकु, मुक्तक, संस्मरण र कथाहरूसमेत रहेको डा पौडेलले बताउनुभयो । दुई खण्ड रहेको पुस्तकमा ‘उपचारको उपक्रम’ भन्ने खण्डमा २२ र ‘लकडाउन डायरी’मा ३६ गरी ५८ लेखहरू रहेको छ ।
‘खुसीहरूको वनवास’ कविता सङ्ग्रहबाट नेपाली साहित्यमा पाइला अघि बढाउनुभएका डा पौडेलको दुई वर्षअघि ‘कम्मरीदेखि कोभिड कहर’ पुस्तक बजारमा आएको थियो । लेखक पौडेल भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्टका साथै चितवनमा हाडजोर्नी तथा नशा विधा अन्तर्गत महत्वपूर्ण मानिने स्पाइनल सर्जरीको सेवा शुरुआत गर्ने वरिष्ठ चिकित्सक हुनुहुन्छ ।
