जीवनमा केही भेटहरू यस्ता हुन्छन्, जसले वर्तमानलाई मात्र होइन, भविष्यलाई समेत सुन्दर बनाइदिन्छन् । कतिपय सम्बन्धहरू अचानक सुरु भएजस्तो देखिए पनि त्यसको जग विश्वास, सम्मान र आत्मीयताले बिस्तारै निर्माण गरिरहेको हुन्छ । वरिष्ठ फिजिसियन डा. महेश्वर प्रसाद र वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मधु गुप्ताको प्रेमकथा पनि यस्तै प्रेरणादायी यात्राको कथा हो, जहाँ दुई चिकित्सकको पेशागत सहकार्यले जीवनभरको साथको रूप लियो ।
वीरगञ्जमा स्वास्थ्य सेवाका क्षेत्रमा स्थापित र लोकप्रिय चिकित्सकका रूपमा चिनिने यो दम्पतीको सम्बन्ध कुनै चलचित्रको कथा जस्तो लाग्न सक्छ । तर यसको सुन्दरता वास्तविक जीवनका संघर्ष, मेहनत, सेवा भावना र एकअर्काप्रतिको विश्वासमा आधारित छ ।
बाल्यकालमै जन्मिएको चिकित्सक बन्ने सपना
पर्साको सिर्सिया क्षेत्रमा जन्मिएका डा. महेश्वर प्रसादलाई सानैदेखि पढाइप्रति विशेष रुचि थियो । कक्षा ८ मा अध्ययन गर्दादेखि नै उहाँको मनमा चिकित्सक बन्ने सपना पलाउन थालेको थियो । परिवारमा चार दाजुभाइ र दुई दिदीबहिनीमध्ये कान्छो भाइका रूपमा हुर्किनुभएका उहाँले बिरामी र पीडित मानिसहरूको अवस्था नजिकबाट देख्नुभएको थियो । यही अनुभवले उहाँलाई चिकित्सा क्षेत्रतर्फ आकर्षित गराएको थियो ।
उता पर्साको पोखरिया गाउँकी डा. मधु गुप्ताको लागि बाल्यकाल गाउँबाट काठमाडौं पुगेर अध्ययन गर्नु आफैंमा चुनौतीपूर्ण यात्रा थियो । तर उहाँका बुवाको विशेष प्रेरणा र आफ्नै इच्छाशक्तिका कारण चिकित्सक बन्ने सपना झन् बलियो हुँदै गयो । कक्षा ७ मा अध्ययन गर्दादेखि नै उहाँले आफूलाई भविष्यको चिकित्सकका रूपमा कल्पना गर्न थाल्नुभएको थियो ।
समय बित्दै गयो । दुवैले फरक–फरक स्थानमा अध्ययन पूरा गर्दै चिकित्सा क्षेत्रमा आफ्नो भविष्य निर्माण गर्न थाल्नु भएको थियो । उहाँहरूलाई त्यति बेला थाहा थिएन कि भविष्यले दुबै जनालाई एउटै बाटोमा ल्याएर उभ्याउनेछ भन्ने ।
नेशनल मेडिकल कलेजबाट सुरु भएको चिनजान
सन् २०१४ मा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजको जनरल मेडिसिन विभागमा एउटा नयाँ अध्याय सुरु भयो । डा. महेश्वर प्रसादले त्यहाँ केही दिनअघि मात्रै सेवा सुरु गर्नुभएको थियो । त्यही समयमा डा. मधु गुप्ताले पनि त्यही मेडिसिन विभागमा आबद्ध भई आफ्नो सेवा सुरु गर्नुभयो ।
शुरुआती दिनहरू सामान्य नै थिए । अस्पतालको व्यस्त वातावरण, बिरामीहरूको चाप, विभागीय जिम्मेवारी र उपचार प्रक्रियाबीच दुबै जनाले सहकर्मीका रूपमा काम गरिरहनुभएको थियो । दैनिकजसो भेटघाट हुन्थ्यो, तर त्यो पेशागत सीमाभित्र मात्र सीमित थियो । समयसँगै परिस्थितिहरू बदलिन थाले । बिरामीका विषयमा हुने छलफल, उपचार योजनाबारे गरिने परामर्श, विभागीय बैठकहरू र कहिलेकाहीँ खाजा तथा कफीका लागि सँगै बिताएका केही मिनेटहरूले उहाँहरूलाई एकअर्कालाई बुझ्ने अवसर दियो । डा. महेश्वरको शान्त, गम्भीर र सहयोगी स्वभावले डा. मधुलाई प्रभावित गरिरहेको थियो भने डा. मधुको स्पष्ट विचार, आत्मविश्वास र खुलापनले डा. महेश्वरको मन जित्न थालेको थियो ।
मित्रताको गहिराइ
समय बित्दै जाँदा उहाँहरूको सम्बन्ध सहकर्मीबाट असल मित्रमा रूपान्तरण हुन थाल्यो । अस्पतालको व्यस्त दैनिकीबीच पनि एकअर्काको उपस्थितिले दिन सहज बन्न थालेको थियो । उहाँहरूबीच चिकित्सा क्षेत्रका विषय मात्र होइन, जीवनका अनुभव, सपना, परिवार र भविष्यका योजनाबारे पनि कुराकानी हुन थाल्यो । दुवैको सोचमा धेरै समानता थियो । बिरामीप्रतिको समर्पण, समाजप्रतिको जिम्मेवारी र आफ्नो पेशाप्रतिको सम्मानले उहाँहरूलाई अझ नजिक बनायो ।
कुनै औपचारिक घोषणा बिना नै डा. महेश्वर र डा. मधु एकअर्काका विशेष साथी बनिसक्नुभएको थियो । अस्पतालको एउटै विभागमा काम गर्दा सुरु भएको आत्मीयता विस्तारै जीवनको महत्वपूर्ण हिस्सा बन्न थालेको थियो ।
मित्रता गहिरिँदै जाँदा डा. महेश्वर प्रसादले आफ्नो मनको भावना व्यक्त गर्ने निर्णय गर्नुभयो । एक दिन उहाँले डा. मधुसमक्ष विवाहको प्रस्ताव राख्नुभयो । विगत सम्झँदै डा. मधु आज पनि मुस्कुराउँदै भन्नुहुन्छ, “विवाहको प्रस्ताव पहिले उहाँले नै गर्नुभएको थियो ।”
डा. मधुले पनि डा. महेश्वरभित्र आफूले खोजेको जीवनसाथी देख्नुभएको थियो । यसरी उहाँहरूको मित्रता प्रेममा परिणत भयो ।
परिवारको सहमतिमा नयाँ यात्रा
प्रेमलाई वैवाहिक सम्बन्धमा रूपान्तरण गर्नु त्यति सहज भने थिएन । डा. महेश्वर प्रसादको परिवारले सम्बन्धलाई सकारात्मक रूपमा स्वीकार गर्यो तर डा. मधु गुप्ताको परिवार, विशेषगरी उहाँका बुवाका लागि यो निर्णय सहज थिएन । हरेक बाबुआमाको जस्तै उहाँका बुवालाई पनि छोरीको भविष्यप्रति चिन्ता थियो । तर समयसँगै डा. महेश्वरको व्यक्तित्व, जिम्मेवारीबोध र दुवैको सम्बन्धको गहिराइ बुझ्दै जाँदा परिवार पनि सहमत हुन थाल्यो । अन्ततः दुवै परिवारको सहमतिमा विवाह सम्पन्न भयो ।
विवाहपछि डा. महेश्वर र डा. मधुको सम्बन्ध झन् बलियो बन्यो । एउटै पेशामा रहेका कारण उहाँहरू एकअर्काको संघर्ष, जिम्मेवारी र चुनौतीलाई सहज रूपमा महसुस गर्न सक्नुहुन्थ्यो । रातभर बिरामीको उपचारमा व्यस्त हुनुपर्दा होस् वा जटिल अवस्थाका बिरामीको उपचार गर्दा आउने मानसिक दबाब, दुवैले एकअर्कालाई सधैं साथ दिँदै आउनु भएको छ ।
डा. महेश्वर कम बोल्ने र गम्भीर स्वभावका हुनुहुन्छ । बिरामीको सेवामा अत्यन्त केन्द्रित रहने उहाँको बानी छ । डा. मधु भने खुलेर बोल्ने, हँसिलो र स्पष्ट विचार राख्ने स्वभावकी हुनुहुन्छ । उहाँहरूको यही स्वभावमा रहेको फरकपनले चिकित्सक जोडीहरूको सम्बन्धलाई अझ सन्तुलित र प्रेमिल बनाएको छ ।
तराईका जनताको सेवामा समर्पित
उच्च शिक्षा र विशेषज्ञता हासिल गरेपछि काठमाडौं वा विदेशमा अवसरको कमी थिएन । तर दुवैले तराईमै बसेर सेवा गर्ने निर्णय गर्नुभयो । डा. महेश्वर प्रसादका अनुसार तराईका नागरिक सामान्य रोगको उपचारका लागि समेत काठमाडौं वा भारत जान बाध्य भएको अवस्था देख्दा आफूलाई यही क्षेत्रमा सेवा गर्नुपर्छ भन्ने भावना जागेको थियो ।
डा. मधु गुप्ताको पनि प्रारम्भिक सोच काठमाडौंमै बसेर सेवा गर्ने थियो । तर विवाहपछि श्रीमान्को तराईका जनताको सेवा गर्ने चाहना र आफ्नो बुवाले पनि मधेशका जनतालाई तराईमै बसी छोरीले सेवा गरिदिए आफू खुसी हुने भावना व्यक्त गर्नु भएपछि उहाँले पनि यही क्षेत्रमा आफ्नो विशेषज्ञ सेवा समर्पित गर्ने निर्णय गर्नुभयो । आज यी दुवै चिकित्सक तराईका हजारौं बिरामीका लागि आशा, विश्वास र भरोसाको नाम बनेको देखिन्छ ।
प्रेरणाको अर्को नाम
डा. महेश्वर प्रसाद र डा. मधु गुप्ताको प्रेमकथा सम्मान, विश्वास, समर्पण र साझा उद्देश्यसँग गाँसिएको कथा हो । यो त तराईका जनताको स्वास्थ्य सेवा प्रवाह गर्ने गर्विला चिकित्सक जोडीको जन्मभूमिप्रतिको मार्मिक सन्देशमुलक कथा हो । अस्पतालको जनरल मेडिसिन विभागमा सेतो कोट लगााएर सेवा गर्दै सुरु भएको चिनजान आज सफल वैवाहिक जीवन र समाजसेवाको उदाहरण बनेको छ । साँचो प्रेम केवल भावनामा सीमित हुँदैन, त्यो एकअर्काको सपना, संघर्ष र लक्ष्यलाई सम्मान गर्दै जीवनभर साथ दिने प्रतिबद्धता पनि हो भन्ने कुरा उहाँहरूको यात्राले सिकाउँछ ।
आज पनि बिरामीको सेवामा व्यस्त रहँदा उहाँहरू एकअर्काका सबैभन्दा ठूला समर्थक र प्रेरणाका स्रोत बन्नुभएको छ । यही कारण उहाँहरूको प्रेमयात्रा व्यक्तिगत सफलता मात्र होइन, समाजका लागि पनि प्रेरणादायी कथा बनेको छ । आफ्ना कैयौं चाहना त्याग गरी उहाँहरू दुबै जनाले तराईका जनताको सेवामा चिकित्सा क्षेत्रबाट सक्दो योगदान दिइरहनु भएको छ । सेतो कोटभित्र फक्रिएको डा. महेश्वर र डा. मधुको प्रेमकथाले बिरामीलाई प्रेममय जीवनका लागि प्रेरणा दिइरहेको छ ।
