काठमाडौँ । आज विश्व फार्मासिस्ट दिवस । ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ’ भन्ने नाराका साथ विश्वभर यो दिवस मनाइँदै छ । औषधि उपलब्ध गराउने मात्र होइन, यसको सुरक्षित, सही र उचित प्रयोग सुनिश्चित गर्दे बिरामीलाई आवश्यक जानकारी र परामर्श प्रदान गर्न फर्मासिस्टहरुको भूमिका महत्वपर्ण रहँदै आएको छ ।
दिवसको अवसरमा औषधि व्यवस्था विभागले शुभकामना सन्देश व्यक्त गर्दै फार्मासिस्टको योगदानलाई थप प्रभावकारी बनाउँदै औषधि तथा स्वास्थ्य सेवाको गुणस्तर, सुरक्षा र पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । विभागका महानिर्देशक भरत भट्टराईले नेपालमा सुरक्षित, प्रभावकारी र गुणस्तरीय औषधिको पहुँच सुनिश्चित गर्न फार्मासिस्टको भूमिका महत्वपूर्ण रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “फार्मासिस्टको ज्ञान, सीप, व्यावसायिक आचरण र सेवामुखी दक्षता निरन्तर अभिवृद्धि गर्नुपर्छ ।”
दिवसको अवसरमा विभागले नियामक निकाय, शैक्षिक संस्था, स्वास्थ्य सेवा प्रदायक र सम्बन्धित सरोकारवालाबीच सहकार्य अझ सुदृढ बनाउँदै स्वस्थ तथा समृद्ध समाज निर्माणमा योगदान पु¥याउन आह्वानसमेत गरेको छ । यसैगरी नेपाल फार्मेसी सङ्घका महासचिव सुवर्ण राज पन्तले फार्मेसी पेशाको मर्यादा, व्यवासायिकता र समग्र विकासका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो।रासस
