काठमाडौं । वर्षायामसँगै पानीजन्य रोगहरू देखिन थालेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडावान्ता, पेट दुख्नेजस्ता समस्या लिएर आउने बिरामीको संख्या दैनिक १० भन्दा माथि रहेको अस्पतालको तथ्यांक छ ।
यस्ता समस्या देखिएपछि अधिकांश बिरामीले मेडिकलबाटै औषधि लिने र सिकिस्त भएको अवस्थामा मात्र अस्पताल आइपुग्ने गरेको अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । असुरक्षित पानी र दूषित खानाका कारण झाडापखाला र अन्य संक्रामक रोगहरू फैलिन थालेको र अस्पताल आइपुग्नेको संख्या हेर्दा समुदायस्तरमा नै फैलिइसकेको आँकलन गर्न सकिने डा. पुन बताउँछन् ।
उनकाअनुसार निर्माण क्षेत्र र बाहिर काम गर्ने श्रमिक वर्ग असुरक्षित पिउने पानी र खानाका कारण बढी जोखिममा रहेको पाइएको छ । समुदायमा हैजा देखिए अवस्था गम्भीर हुने र महामारीको रूप लिनसक्ने भन्दै उनले सतर्क हुन आग्रह गरेका छन् ।