जुम्ला । गाउँमै सुलभ र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न जुम्लाको तातोपानी गाउँपालिकाले पाँच शय्याको अस्पताल निर्माण गर्ने भएको छ ।
आगामी साउनबाट तातोपानी गाउँपालिका वडा नं. ६ स्थित हियाँखोलामा पालिकाले पाँच शय्याको अस्पताल निर्माण गर्ने भएको हो ।
अस्पताल निर्माणका लागि डिपिआर समेत तयार भइसकेको छ । आगामी साउन महिनाबाट अस्पताल निर्माण प्रक्रिया अघि बढ्ने तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताउनुभयो ।
“डिपिआर सबैको सहमतिमा पास भएको छ । अस्पताल निर्माणका लागि आवश्यक जग्गा समेत प्राप्त भइसकेको छ ।” उहाँले भन्नुभयो, “गाउँमै निर्माण हुने अस्पतालले स्थानीयलाई राहत मिल्ने छ । गाउँमा नै संस्थागत सुत्केरी गराउनेको सङ्ख्या वृद्धि हुने र स्वास्थ्य सेवाको पहुँच वृद्धि हुने अपेक्षा छ ।”
अस्पताल निर्माणका लागि तातोपानी गाउँपालिका–६ निवासी विष्णु रोकायाले ३ हजार ८ सय ३८ वर्ग मिटर जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । निःशुल्क रुपा दिइएको जग्गा पालिकाको नाममा पास समेत भएर आइसकेको छ । अस्पताल निर्माण पश्चात् पालिकाका ८ वटै वडाका नागरिकले सेवा पाउने छन् ।
पाँच शय्या अस्पताल निर्माणको पालिकाको २० लाख लगानीमा डीपीआर तयार भएको हो ।
“अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता समेत गरिसकेको छ ।”, तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले भन्नुभयो, “आगामी साउनबाट अस्पताल निर्माण हुने पक्का भएको छ । सुविधायुक्त पूर्वाधार सहितको अस्पताल बनाउने डिपिआर तयार भएको छ ।”
गाउँमै अस्पताल निर्माण हुने भएपछि तातोपानी बासी उत्साहित भएका छन् । गाउँमै विशेषज्ञ सेवा पाईने र उपचारका लागि टाढा जानु पर्ने बाध्यताको अन्त्य हुने भन्दै पालिकाको आफ्नै अस्पताल निर्माण हुने कुराले जनता उत्साहित भएको तातोपानी वडा नं. ६ का वडाध्यक्ष विशाल खड्काले बताउनुभयो ।
उहाँका अनुसार गाउँमै अस्पताल निर्माण हुने भएपछि सहिद छक्क रोकायाकी आमा विष्णु रोकायाले निःशुल्क जग्गा दिनुभएको हो । अस्पताल निर्माण प्रक्रियासम्म पुग्दा पालिकाका पूर्व अध्यक्ष लगायतका जनप्रतिनिधिको महत्त्वपूर्ण योगदान रहेको छ ।