डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री अमरबहादुर साउदले हरेक नागरिकले बिमा गरेर आफ्नो जीवन सुरक्षित राख्न अति आवश्यक रहेको बताउनुभएको छ ।
प्राइम लाइफ इन्स्युरेन्स लिमिटेड कम्पनीले डडेल्धुरामा आयोजना गरेको बिमा सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रममा राज्यमन्त्री साउदले बिमाबाट आर्थिक बचत र सुरक्षित जीवनका लागी समेत उपयोगी बनिरहेकाले बिमालाई अभियानका रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अमरगढी नगरपालिका नगर प्रमुख डिल्लीराज जोशीले बिमा कार्यक्रमले नागरिकलाई निकै राहत पुर्याइरहेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासङ्घका पूर्व अध्यक्ष मानबहादुर साउदले बिमाप्रति नागरिकलाई विश्वासमा ल्याउनुपर्ने चुनौती देखिएका भन्दै सचेतनामूलक कार्यक्रम मार्फत बिमा कार्यक्रमलाई अभियानका रुपमा लैजानुपर्नेमा जोड दिनुभयो ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रबन्ध निर्देशक मनोजकुमार भट्टराईले स्थापनाको १५ वर्षमा १७ लाख जना नागरिकको बिमा गरेको जानकारी दिनुभयो ।
इन्स्योरेन्सको १७ सय ६१ करोड रुपैयाँ बिमा कोषमा रहेको समेत जनाइएको छ । यस्तै १९ करोडको लगानीयोग्य रकम र ६ प्रतिशतसम्म लाभ दिन सक्ने अवस्थामा इन्स्योरेन्स रहेको जनाइएको छ ।