मान्म, जिल्ला अस्पताल कालिकोटमा स्थापनाकालदेखि कर्मचारीको अभाव रहँदै आएको छ । विसं २०६१ मा स्थापना भएको जिल्ला अस्पतालमा कर्मचारीको अभाव रहँदै आएको छ ।
जिल्ला अस्पतालमा १०औँ तहको मेडिकल सुपरिटेण्डेन्टको दरबन्दी रहेकामा विसं २०६१ देखि निमित्त रहँदै आएको, दरबन्दीअनुसार कार्यालय प्रमुख र कर्मचारी हालसम्म नपाएको सूचना अधिकारी कटकबहादुर महतले बताउनुभयो । “प्रमुख नहुँदा अस्पतालबाट प्रवाह हुने विशेषज्ञ सेवा प्रभावित हुँदै आएका छन् ।” उहाँले भन्नुभयो, “विसं २०६१ देखि सेवा सुरु गरेको जिल्ला अस्पतालमा अहिले आठौँ तहका मात्रै कार्यालय प्रमुख बन्नुभएको छ ।”
अस्पतालले पटक–पटक मन्त्रालय र मातहतका कार्यालयलाई जनशक्ति पठाउन अनुरोध गरे पनि त्यसको कुनै सुनुवाइ नभएको सूचना अधिकारी महतको भनाइ छ । आठ चिकित्सको दरबन्दी रहेको जिल्ला अस्पतालमा सात करार चिकित्सक रहेको सूचना अधिकारी महतले जानकारी दिनुभयो । “जिल्ला अस्पतालमा प्राविधिकतर्फ छ मेडिकल अफिसर, एक एमडिजीपी र एक डेन्टल सर्जनमात्रै कार्यरत हुनुहुन्छ”, उहाँले भन्नुभयो, “अस्पतालमा ल्याब टेक्निसियन, रेडियोग्राफर, भेन्टिलेटरमा काम गर्ने दक्ष जनशक्तिको अभाव हुँदा भएका उपकरणसमेत सञ्चालनमा आएका छैनन् ।”
जिल्ला अस्पतालमा ४४ जना कर्मचारीको दरबन्दी रहेकामा १८ जनामात्रै स्थायी कर्मचारी रहेको सूचना अधिकारी महतले बताउनुभयो । “दरबन्दीअनुसार अहिले पनि चार विशेषज्ञ चिकित्सकको अभावमा तोकिएका सेवा प्रवाह गर्न समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “पटक–पटक कर्मचारी पठाउन अनुरोध गरे पनि मन्त्रालयले कर्मचारी पाएका छैन ।”