काठमाडौं । सरकारले कोभिड १९ विरुद्धको खोप लगाउन छुटेका पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई साउन २ गतेदेखि फाइजर खोप दिने भएको छ । यसअघि पहिलो डोज लगाएका २७ जिल्लाका बालबालिकालाइै दोस्रो डोजसँगै छुटेकाहरूलाई पनि साउन २ गतेदेखि पहिलो डोज खोप दिन लागिएको हो ।
कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा आज आइपुगेको २२ लाख ९९ हजार २०० डोज खोप बालबालिकालाई दिन लागिएको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिए ।
असार ९ गतेदेखि १५ असारसम्म पहिलो डोज दिइएका २७ जिल्लाका बालबालिकालाई साउन २ देखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने छ । बाँकी ५० जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो डोज खोप दिइने विभागले जनाएको छ ।