बाजुरा । बाजुरामा कालाजारका कारण एक जनाको मृत्यु भएको छ।
जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर–१ बस्ने ५२ वर्षीय पर्वलाल गुरुङको कालाजारका कारणले मृत्यु भएको हो ।
कालाजारबाट बिरामी भएका गुरुङको उपचार अभावमा मृत्यु भएको स्थानीय हिक्मत वडले बताउनुभयो । सरकारले कालाजारको जाँचदेखि उपचारसम्म निःशुल्क गर्ने व्यवस्था गरेको भएपनि पर्वलालको भने उपचार नपाएर मृत्यु भएको छ ।
कालाजारबाट बिरामी भई थला परेका गुरुङलाई कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले नेपालगन्ज रिफर गरेको थियो । तर गुरुङसँग पैसा अभाव हुँदा उपचारका लागि जिल्ला बाहिर जान नसक्दा उनको घरमै मृत्यु भएको हो । गुरुङको मृत्युसँगै उनको परिवार बिच्चलीमा परेको छ ।
”कालाजारले सिकिस्त गुरुङलाई आफूहरूले नेपालगञ्ज वा काठमाडौँ उपचारका लागि जान भनेका थियौँ उहाँ जानू भएन”, प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिका डा.चेतबहादुर धामीले बताउनुभयो ।